आदरणीय दाई डा. रवीन्द्र समीरको तेह्रौ कृति ‘कोरोनातन्त्र’ करिब ३ महिना अघि इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको थियो । केहि समय यता म अधिक समय काठमाडौँ बाहिरनै हुनुपरेकोले उक्त पुस्तक हातापार्न सकेको थिईन । तर ठ्याक्कै एक हप्ता अघि दाईलाई भेट्न भनि उहाकै निवास पुगेपछि त दाईको हस्ताक्षर सहित पुस्तक नलिई फर्किने कुरै भएन । पुस्तक हातापरेकै दिन दुई चार पाना पढ्न भ्याए । त्यहि चार पानामा अटेका दुई कथाले नै पढ्ने भोक जगाईसकेका थिए ।
गत हप्ता पनि म फुर्सदमा त पटक्कै थिईन त्यसैले ‘कोरोनातन्त्र’ पनि मेरो दौडधुप मै रोमलिदै थियो तर साथ भने छाडेको थिएन । कोरोनाकाल सुरु हुदा ताका नेपाल सरकारको पहिलो लकडाउनमा म काठमाडौँ मै आफ्नो आभासको एउटा कुनामा दिनभरी ल्यापटप अगाडी बसि मर्कामा परेकाहरुको पहिचान गर्दै काठमाडौँ बाट बाहिर जान नपाएका ज्यादा तह विद्यार्थीवर्ग तथा बिचबाटोमा अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउमा पुर्याउन सहजीकरण गर्ने, आफैले काठमाडौँका विभिन्न ठाउमा खाद्यान्न पुर्याउने वा आफु पुग्न नमिल्ने ठाउँहरुमा नजिकको वडा कार्यालय वा दातासंग सम्पर्कमा ल्याउने, औषधिको चर्को अभावमा औषधि खोज्न हरसम्भव प्रयास गर्ने वा भनौ कहिल्लै कसैले कल्पना समेत नगरेको लकडाउन अनि भयानक कोभिड एक्कासी सामना गर्नुपर्दाको चुनौतीलाई सहजीकरण गर्ने अभियान नै चलाएका थियौ । पहिलो लकडाउन अलिकति साम्य हुदासाथै म अर्घाखाँची पुगेको थिए र जिल्ला सदरमुकाम सन्धिखर्कबाट नजिकै पर्ने मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका का सामुहिक क्वारेन्टाइन तथा आइसोलेशन सेन्टरहरुमा स्थानिय सरकारको सहयोगमा योग शिविर संचालन, आकस्मिक औषधि, आयुर्वेद औषधि तथा हाइजीन किट वितरण गरेका थियौ भने दोश्रो लकडाउनमा आयुर्वेद शिक्षण अस्पताल, किर्तिपुरमा इन्टर्न चिकित्सकको रुपमा कार्यरत थिए । पहिलो लकडाउनमा आफु सुरक्षित हुन् सफल भएता पनि दोश्रो लकडाउनमा भने अस्पतालमा दैनिक कोभिडका बिरामीमात्रैको सम्पर्कमा आउदा आफै कोभिड संक्रमित भए । यता अक्सिजन सिलिन्डरको उस्तै अभाव सृजना हुदा थुप्रैले ज्यान गुमाउनु पर्ने अवस्थामा विभिन्न संस्थासंग मिलेर अक्सिजन सिलिन्डरको व्यवस्थापनको प्रयास पनि गरेका थियौ ।
सो अन्तराल भरि नै म डा. रवीन्द्र दाईसंग नियमित सम्पर्कमा थिए । संक्रमितको संख्या बढ्दो गति हुदा यो आझै कति भयावह होला ? सरकारलाई लकडाउन लम्ब्याउने वा अन्त्यगर्ने विषयमा के सल्लाह दिनु भो ? सामान्य लक्षणमा कुन-कुन औषधि प्रिस्काइब गरौ ? भ्याक्सिन कहिले सम्म आउला ? यी र यस्तै प्रसङ्गमा रवीन्द्र दाईसंग थुप्रै टेलिफोन संवाद भएको मलाई सम्झना छ । र रवीन्द्र दाईकै अग्रसर्तामा मास्क किन्न नसक्ने वर्गलाई २० हजार थान मास्क आफ्नै खर्चमा बनाएर काठमाडौँ ललितपुर तथा भक्तपुर आसपासका गाउ तथा सुकुम्बासी एरियामा मास्क क्यामपेन नै चलायौ । म आफै पनि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी एरिया, पशुपति क्षेत्र र गैरीगाउँमा मास्क वितरण गर्न पुगेको थिए ।
यी सबै भोगाई अनि अनुभवले होला ‘कोरोनातन्त्र’ का सबै जसो कथा आफ्नै जस्ता लागे । रवीन्द्र दाईले नविन शैलीमा कोरोनाकालका अनेकन कथाहरुलाई व्यंग सहित एउटै सूत्रमा बुनी सूत्र उपन्यास सृजनालाई ‘कोरोनातन्त्र’ नाम दिनुभएको छ । दाईका लघुकथाहरु पढ्दा तिनीहरुमा गरिएको व्यंगप्रति त म पहिले देखि नै प्रभावित थिए । तर यस ‘कोरोनातन्त्र’ मा साह्रै सुन्दर शैलीमा शास्त्रका कुराहरु समेटिएको छ । ‘कोरोनातन्त्र’ बाट जस्ताको त्यस्तै साभार “शास्त्रमा भनिएको पनि छ, ‘जसको तृष्णा विशाल छ, ऊ दरिद्र हो । मनैदेखि सन्तुष्ट भए न कोहि धनी, न कोहि दरिद्र हुन्छ । जसको अभिलाषा बढी हुन्छ, उही दरिद्र हो ।’ कोरोनातन्त्रका १०१ लघुकथा साह्रै रससंग पढियो, कथाहरु सकिनै लाग्दा पनि नसकियोस भन्ने लाग्यो । कोरोना महामारी, अनुभव, सबै डाक्टर, सबै विज्ञ, सबै औषधि, लकडाउन, संचारमाध्यम, नेपालका सरकारी तथा निजी अस्पतालको अवस्था, भेन्टिलेटरको अभाव, कोरोनाकालमा चिकित्सक, अक्सिजन सिलिन्डर अभाव, होम आइसोलेशन, भ्याक्सिनप्रति सर्वसाधारणको विभिन्न राय, भ्याक्सिनमा भ्रष्टाचार, बजारको अवस्था, आर्थिक मन्दी, गरिबी, आदि आदि विषयमा कथाहरु बुनिएका छन् ।
जसरी महाभूकम्पका समयमा पनि रवीन्द्र दाईको आफ्नै सक्रियतामा भूकम्पग्रस्थ क्षेत्रहरुमा सय भन्दा बढी स्वास्थ्य शिविर संचालन गर्नुभएको थियो भने त्यो समयका कथाहरुको कृति ‘भूकम्पमा मल्हमपट्टी’ प्रकाशन गर्नु भनेको थियो भने कोरोनाकालको यो कृति पनि साच्चिकै संग्रहनीय छ, महामारीको गतिलो इतिहास हो ‘कोरोनातन्त्र’ । म सबैलाई पढ्न आह्वान पनि गर्दछु ।
संयोगले गत साता नै रवीन्द्र दाईले अर्ध सतक पार गर्नु भएको छ, यहाँको पचासौ जन्मदिन तथा तेह्रौ कृति ‘कोरोनातन्त्र’ का लागि एकमुष्ट भयङ्कर शुभकामना !! ![]()